
सिंहदरबारस्थित ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत र वित्तीय प्रगति २८ प्रतिशत पुगेको जनाएको हो ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले पुरातत्व विभागको समन्वयमा रेट्रोफिटिङको कार्य भइरहेको बताए । उनले सिंहदरबारभित्र कामदारको प्रवेश, सामाग्री ढुवानी र व्यवस्थापन र स्थानान्तरणमा कठिनाइ देखिएकाले रेट्रोफिटिङको कार्यमा केही ढिलाई भएको जानकारी दिए ।
आयोजना निर्देशक श्रेष्ठले रेट्रोफिटिङ अन्तर्गत जटिल कार्य सम्पन्न भइपनि अझै धेरै काम बाँकी रहेकाले निर्माण आयोजनासंग समन्वय समेत भइरहेको उल्लेख गरे । निर्माण व्यवसायीले सन्तोषजनक रुपमा नै काम गरिरहेकाले प्राविधिक जटिलताहरुलाई हल गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
बैठकमा समिति सदस्यहरले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ग्यालरी बैठक भवनको रेट्रोफिटिङका लागि २०८१ साल जेष्ठ ६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरु सम्झौता बमोजिम २०८२ मंसिर ६ गतेसम्म रेट्रोफिटिङ सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि २०८३ मंसिर १ गतेसम्म म्याद थप गरिएको आयोजना निर्देशक श्रेष्ठले बताए।