
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा रणनीतिक समन्वय, जनसंवाद र साङ्गठनिक सुदृढीकरणमा केन्द्रित हुन पाँचबुँदे निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको परिपत्रमार्फत सांसदहरूलाई उक्त निर्देशन दिइएको हो।
परिपत्रमा सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्म संस्थागत गर्न संसद् र तल्लो तहका नागरिकबीच जीवन्त संवाद अपरिहार्य रहेको उल्लेख गरिएको छ।
रास्वपाले सांसदको निर्वाचन क्षेत्र भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित हुन नहुने स्पष्ट पारेको छ। भ्रमणलाई पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने तथा जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न निर्देशन दिइएको परिपत्रमा उल्लेख छ।
यस्ता छन् महामन्त्रीका पाँचबुँदे निर्देशन
१. संस्थागत समन्वय र पूर्व-सूचना : कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्नु।
२. स्थानीय मुद्दाको प्राथमिकीकरण : भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग पूर्व- छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न। ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने।
३. सांगठनिक अपनत्व र जन: परिचालन : कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न।
४. मितव्ययिता र सुशासन : भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राख्दै, स्रोत साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न ।
५.नीतिगत पृष्ठपोषण प्रणाली : निर्वाचन क्षेत्रका नागरिकमाझ जाने क्रममा प्राप्त जन- सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टिङलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न ।