काठमाडौं, साउन १० :

जर्मनीको राजधानी बर्लिनमा आयोजित प्राइड कार्यक्रमका क्रममा एक कार भीडमा छिर्दा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घटनापछि प्रहरीले व्यापक रुपमा संदिग्धको खोजी अभियान सञ्चालन गरेको जनाएको छ।

प्रहरीका अनुसार घटना स्थानीय समयअनुसार राति करिब १० बजे  ब्रान्डेनबर्ग गेट नजिकै रहेको टियरगार्टेन पार्क क्षेत्रमा भएको हो।

घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीका एक प्रवक्ताले एक संदिग्ध व्यक्तिको पहिचान भइसकेको तर हालसम्म कसैलाई पक्राउ नगरिएको जानकारी दिए।

प्रहरीले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ "सेतो रंगको एउटा गाडीका चालकले धेरै व्यक्तिलाई ठक्कर दिएको बताइएको छ। घटनामा धेरै जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर र जीवन जोखिममा रहेको छ।"

जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले घटनालाई भयानक अपराधको संज्ञा दिँदै घटनाको पूर्ण र निष्पक्ष अनुसन्धान गरिने बताएका छन्।

त्यस्तै बर्लिनका मेयर काइ वेग्नरले यस घटनालाई हाम्रो स्वतन्त्र र खुला समाजमाथिको आक्रमण भएको बताएका छन्।

बर्लिन प्राइड भनेको जर्मनीको बर्लिनमा प्रत्येक वर्ष आयोजना हुने एलजिबीटिक्यू समुदायको अधिकार, समानता र विविधताको समर्थनमा गरिने ठूलो सार्वजनिक कार्यक्रम हो।