
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका विषयमा धेरै मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षबीच कुनै आक्रमण नभएको अवस्थामा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार युद्ध अन्त्य हुन सक्ने आशा व्यक्त गरे। उनले भने मलाई लाग्छ, केही सकारात्मक परिणाम निस्कने राम्रो सम्भावना छ। तर उनले वार्ता असफल भएमा अमेरिका युद्धविरामअघिको सैन्य अभियान पुनः सुरु गर्ने चेतावनी पनि दिएका छन्। ट्रम्पका अनुसार "यदि वार्ता सफल भएन भने हामी पहिले गरिरहेकै काममा फर्किनेछौँ।"
यद्यपि इरानले कुनै प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ।
ट्रम्पले शुक्रबार अमेरिका द्वारा इरानमाथि गरिने हवाई आक्रमण स्थगित गर्ने निर्णय गरेको बताउँदै मध्यस्थकर्ताहरूले वार्तालाई अर्को अवसर दिन आग्रह गरेपछि यस्तो निर्णय लिएको स्पष्ट पारे।
इरानले पनि यस अवधिमा आफ्ना आक्रमणहरू रोकिएको जनाएको छ।
यो अस्थायी युद्धविरामअघि करिब दुई सातासम्म अमेरिका र इरानबीच दैनिक आक्रमण र प्रत्याक्रमण भइरहेका थिए जसले जुन महिनामा भएको युद्धविराम सम्झौतालाई लगभग निष्प्रभावी बनाएको थियो।
त्यस बेला अमेरिकी सेनाले आफ्ना हवाई आक्रमणहरूको उद्देश्य इरानको होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूलाई धम्की दिने क्षमतालाई कमजोर पार्नु रहेको जनाएको थियो। होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण कच्चा तेल ढुवानी मार्गमध्ये एक हो।