
नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरो धमाधम पन्छाइँदैछ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित भएको छ ।
डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उनले जानकारी दिए ।
उनले भने “थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । ” मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पहिरोस्थल पर्दछ । चालीस मिटरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको हो । पहिरोले २० मिटर क्षेत्र ढाकेको छ । सफा गर्न कठिन भइरहेको छ । नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुनसक्ने बताइएको छ ।