
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा शुक्रबार संयुक्त सद्भाव र्याली निकालिएको छ।
‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित आयोजित र्यालीमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, हिन्दु तथा मुस्लिम समुदायका अगुवा, सामाजिक अभियन्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीमा सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य शिताराम शाह, खडक नगरपालिकाका निवर्तमान नगरप्रमुख हेमायु हक, वडा नं. ७ का अध्यक्ष राकेश साह तथा वडा नं. ६ का अध्यक्ष मोहम्मद कलामुद्दिनलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।
सहभागीहरूले धार्मिक तथा जातीय सद्भाव, सामाजिक एकता र आपसी सम्मान कायम राख्दै कुनै पनि उक्साहट वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेका थिए।
उता, घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै प्रदर्शन थप उग्र हुन नदिन जिल्ला प्रशासनले राजविराज र बोदेबरसाइन नगरपालिका लगायतका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।