
राहदानी ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार भट्टराईमाथि राहदानी ऐनअन्तर्गत वि.सं. २०६८ सालमा भएको कसुरको अनुसन्धानपछि २०८२ चैतमा मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
१७ वर्षअघि पाँच तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा भट्टराईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।