काठमाडौं, साउन १९ :

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्दम्बेले सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भनी प्रश्न गरे ।

यस घटनाबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्ने भन्दै उनले क्षति भएको सम्पत्तिको एकीन गरी क्षतिपूर्तिको व्यबस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरे ।

सरकारले गठन गरेको छानबिन समितिप्रति अविश्वास प्रकट गर्दै आङ्दम्बेले न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए ।सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटनामा सुरक्षाकर्मीले बल प्रयोग गर्दा घटना थप चर्किन पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएका थप एक जनाको मृत्यु भएसँगै सुनसरी गोलीकाण्डमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।