
प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन्। प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्ने संसद् सचिवालयले जनाएको छ । १५ जना सांसदहरूले मात्र प्रश्न सोध्न पाउँने जनाइएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक-एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्। सांसदहरुको निरन्तरको मागपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए ।
प्रधानमन्त्री शाह दैनिक कार्यालय समयमै सिंहरदरबार गए पनि नजिकै रहेको संसद् भवनमा भने आकलझुकल मात्र जाने गरेका छन् । प्रधानमन्त्रीलाई सोध्नुपर्ने जनजीविकाका प्रश्नहरु धेरै नै रहेको भन्दै विपक्षी दलका सांसदहरुले प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखसँग पटकपटक आग्रह गर्दै आएका थिए ।