भक्तपुर, भदौ ४ :

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन् । खौमाको पुनर्निर्मित देवघरको उद्घाटन गर्दै उनले सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताए । भक्तपुरका सम्पदा, कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालय भएकाले यसको अध्ययन र अनुसन्धानमा युवाको अभिरुची हुनपर्ने बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पपछि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धारलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । 
नगरपालिकाले १८५ वटा सम्पदाको संरक्षण गरिसकेको जानकारी दिँदै उनले मठ, मन्दिर, फल्चा, ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइएको उनले बताए ।

इन्द्रायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले रु तीन करोड ७६ लाख चार हजार चार सय ६६ रुपैयाँ खर्च भएको जानकारी दिए । स्थानीयले रु १७ लाख बराबरको भौतिक सहयोग  गरेका थिए । नेपाल संवत् ८११ मा   उक्त मन्दिर निर्माण भएको हो ।