
काठमाडौं, भदौ ८ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभाका तीन सांसदलाई पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार प्रदेशसभा सभामुखलाई पत्र पठाउँदै हाल प्रदेश सरकारमा मन्त्री बनेका सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न माग गरेका हुन्।
पार्टीको निर्देशन पटकपटक अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको तथा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई पदमुक्त गर्न पत्रमा उल्लेख गरिएको छ।
यसअघि राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि पदमुक्त गर्न पत्र पठाएको थियो। उक्त पत्र पार्टीकी प्रमुख सचेतक कुमारी तामाङले आज प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंलाई बुझाएकी थिइन्।