
रसुवा, भदौ ३१ :
भोटेकोसी बाढीबाट क्षतिग्रस्त बनेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र चार जनाको शव र एउटा मानव अंग फेला परेको छ।
बाढीको २२औं दिनमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले बिहीबार चार वटा शव र एउटा मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ। शव र मानव अंगलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव र एउटा मानव अंग फेला परेको थियो। चिलिमे जलविद्युत् आयोजनाका ६ जना सम्पर्कविहीन भएका थिए। उनीहरू सुरुङभित्रै थुनिएको हुनसक्नै आशंकामा खोज तथा उद्धार गरिएको हो।