काठमाडौं, असोज ३ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन,एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसबाट तत्काल प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

सञ्चारमाध्यमसँग ट्रम्पको लामो समयदेखि चल्दै आएको तनावपूर्ण सम्बन्धमा यो पछिल्लो घटनाक्रम हो।

शुक्रबार ट्रुठ्ठ सोसलमा पोस्ट गर्दै ट्रम्पले ती सञ्चारमाध्यमहरूले आफ्नो प्रशासनबारे “लगातार काल्पनिक कुरा वा झूट लेख्ने तथा प्रसारण गर्ने आरोप लगाए। यद्यपि उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै उदाहरण भने प्रस्तुत गरेनन्।

पछि ट्रम्पले यसलाई एकदमै सरल प्रतिबन्ध भएको बताए। तर यो प्रतिबन्ध कसरी कार्यान्वयन हुनेछ भन्नेबारे उनले स्पष्ट पारेनन्। ती सञ्चारमाध्यमका कर्मचारीलाई ह्वाइट हाउस परिसरमा प्रवेश गर्नसमेत रोक लगाइने हो वा होइन भन्ने अझै स्पष्ट छैन।

सिएनएनले ट्रम्पको कदमको तत्काल आलोचना गर्दै यसलाई अमेरिकी प्रेस स्वतन्त्रतामाथिको गैरकानुनी हमला भनेको छ। ट्रम्पको यो निर्णयविरुद्ध कानुनी चुनौती आउन सक्ने सम्भावना छ।

पोलिटिकोले पनि विज्ञप्ति जारी गर्दै आफूले यो ह्वाइट हाउस र आगामी ह्वाइट हाउसहरूबारे निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिरहने जनाएको छ।

विज्ञप्तिमा थप भनिएको छ, हाम्रा पहिलो संशोधन अन्तर्गतका अधिकारलाई सीमित गर्ने कुनै पनि प्रयासविरुद्ध हामी दृढतापूर्वक आफ्नो अधिकारको रक्षा गर्नेछौँ।

ट्रम्पले प्रतिबन्ध घोषणा गरेको केही समयपछि पनि  पोलिटिको र सिएनएनका पत्रकारहरू ह्वाइट हाउस परिसरमै रहेका थिए।

सिएनएनको एउटा टोली उपराष्ट्रपति जेडी भान्ससँगै आयोवामा आयोजित एउटा कार्यक्रममा गएको थियो र कार्यक्रमबाट फर्किँदै पनि थियो।

एक विज्ञप्ति जारी गर्दै सिएनएनले सम्भावित प्रतिबन्धलाई गैरकानुनी भन्दै हामी हाम्रो ह्वाइट हाउसस्थित टोली र उनीहरूको निष्पक्ष तथा तथ्यमा आधारित समाचार सम्प्रेषणप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ भनेको छ।

ट्रम्पले प्रतिबन्ध घोषणा गरे लगत्तै ओभल अफिसमा सञ्चारकर्मीहरूले सोधेका प्रश्नहरूको समेत जवाफ दिएका थिए।