
नेपाली कांग्रेसले भोटेकोशी विपद् लगायतका घटनालाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनको असरका बिषयमा तयार पारिएको धारणा बुझाएका हुन् ।
संयुक्त राष्ट्र संघको महासभामा जाँदै गर्दा प्रधानमन्त्रीको साथमा सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट छ भन्ने बलियो सन्देश दिन खोजिएको उपसभापति शर्माले बताए । साथै जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन आग्रह गरिएको उनले बताए ।
नेपालले विश्वको १% भन्दा पनि कम मात्र कार्बन उत्सर्जन गर्दा पनि जन्मकैदको सजाय पाएजस्तो ठूलो विपद् र क्षति बेहोर्नु परेको विषय उठाउन सुझाइएको शर्माले उल्लेख गरे ।
त्यस्तैगरि शर्माले नेपालले न्यून कार्बन उत्सर्जन गर्ने सम्पूर्ण साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने र सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग संयम एवं कूटनीतिक चातुर्यताका साथ गहन संवाद गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको जानकारी दिए ।
औपचारिक सम्बोधन मात्र नभई साइडलाइन वार्ता, लबिङ र मुभमेन्टमार्फत पनि नेपालको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन आग्रह गरिएको उनले बताए । छलफलमा प्रधानमन्त्री शाहले राष्ट्र संघमा प्रस्तुत गर्ने दस्तावेज विज्ञहरूको गहन सुझाव र तथ्यमा आधारित बनाएको जानकारी गराएका थिए ।