
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार साँझ मनसुन विशेष बुलेटिन जारी गरी तीन दिनको मौसम बारेमा जानकारी गराएको छ । वर्षाले जनजीवन प्रभावित हुन सक्ने जनाइएको छ। बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ।
हाल विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यसैगरी, मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैबीच, त्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सोमबार नै एक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ। प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न पनि आग्रह गरेको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले प्राधिकरणले केही पूर्वतयारी स्वरुप जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।