कास्की, असोज ७ :

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि फ्लाई दुबईले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। दुबईबाट ११३ जना यात्रु बोकेर आएको फ्लाई दुबईको विमान बुधबार पोखरा विमानस्थलमा पहिलोपटक अवतरण गरेको हो।

पोखराबाट सोही विमानले १५३ जना यात्रु बोकेर दुबईका लागि उडान भरेको छ। विमानस्थलमा पहिलो नियमित अन्तर्राष्ट्रिय उडानको स्वागत पानीको फोहोराले गरिएको थियो। पोखरेली तथा यात्रुका आफन्तसमेत विमानस्थल पुगेर यात्रुको स्वागत तथा बिदाइ गरेका थिए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहितको टोलीले पोखराबाट फ्लाई दुबईको एफजेड ११६६ उडानमार्फत दुबई जान लागेका यात्रुलाई बिदाइ गरेको थियो। उडानमार्फत अधिकांश यात्रु रोजगारीका लागि खाडी मुलुक गएका छन्।  आचार्यले पहिलो नियमित अन्तर्राष्ट्रिय उडानका यात्रुलाई पोखरा महानगरपालिकाको तर्फबाट बिदाइ गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए ।

यसअघि विमानस्थलबाट केही चार्टर अन्तर्राष्ट्रिय उडान तथा पोखरा–ल्हासा साप्ताहिक नियमित उडान सञ्चालन भए पनि अपेक्षित रूपमा नियमित अन्तर्राष्ट्रिय सेवा विस्तार हुन सकेको थिएन। फ्लाई दुबईको नियमित व्यावसायिक उडान सुरु भएपछि भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको गतिविधिमा नयाँ गति थपिएको छ।यसबाट पर्यटनसँगै व्यापार, रोजगारी र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।