शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

पेरिसनजिकै भएको घातक गोलीकाण्ड जातिवादी आतंकवादी आक्रमण हो : राष्ट्रपति म्याक्रों

सक्रिय न्युज · ५३ मिनेट अगाडि प्रकाशित
पेरिसनजिकै भएको घातक गोलीकाण्ड जातिवादी आतंकवादी आक्रमण हो : राष्ट्रपति म्याक्रों
काठमाडौं, कात्तिक ७ :

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेरिसको उपनगरमा भएको गोलीकाण्डलाई जातिवादी आतंकवादी आक्रमण भनेका छन्। उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

म्याक्रोंले यो घटनालाई फ्रान्सेली गणतन्त्र र राष्ट्रको जीवनमा ‘महत्त्वपूर्ण मोड’ भन्दै यसअघि देशमा यसरी अनियमित रूपमा जातीय आधारमा हत्या भएको घटना कहिल्यै नभएको बताएका छन्।

आक्रमण करिब १५ मिनेटसम्म चलेको थियो। आक्रमणकारीले आफ्नो कारबाट गोली चलाएका थिए। सुरुमा पेरिसको दक्षिणपश्चिममा पर्ने ट्राप सहरमा गोली चलाएका उनी त्यसपछि नजिकैको ला भेरिएर क्षेत्रमा पुगेका थिए। आक्रमणकारीले आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई लक्षित गरेको देखिएको थियो। पछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

घाइतेमध्ये १२ वर्षीया बालिकासहित तीन जनाको अवस्था अझै गम्भीर रहेको छ।

ट्रापमा घटनास्थलको भ्रमण गर्दै राष्ट्रपति म्याक्रोंले पीडितहरूलाई उनीहरूको छालाको रङ वा धर्मका आधारमा निशाना बनाइएको बताए। उनले समाजमा जरा गाड्दै गएका भनिएका ‘विचारधारा’ को सामना गर्दा जनताले एक इन्च पनि पछि हट्न नहुनेमा जोड दिए।

आक्रमणको वास्तविक उद्देश्य अझै स्पष्ट हुन सकेको छैन। तर, फ्रान्सको राष्ट्रिय आतंकवादविरोधी अभियोजन कार्यालय (PNAT) ले यो घटना ‘आतंकवादी गतिविधिसँग सम्बन्धित हत्या’ भएको देखिएको जनाएको छ।

फ्रान्सेली सञ्चारमाध्यमले संदिग्धको नाम केभिन टी सार्वजनिक गरेका छन्। पीएनएटीका अनुसार उनी यसअघि चारवटा कसुरमा दोषी ठहरिएका थिए, तर ती अभिलेख स्वतः मेटिएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३९ वर्षीय ती व्यक्ति प्रहरीको निगरानीमा परिचित थिए, तर फ्रान्सका गुप्तचर निकायको जानकारीमा भने थिएनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार