शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

मादल बनाउने पेसा ‘सङ्कटमा’: तिहारमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १२ मिनेट अगाडि प्रकाशित
मादल बनाउने पेसा ‘सङ्कटमा’: तिहारमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा
ओखलढुङ्गा, कात्तिक २० :

मादल बनाउने कालीगढको अभावमा ओखलढुङ्गाको स्थानी बजारमा नयाँ मादल पाउननै  मुस्किल परेको छ ।

कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम  भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो

मादल बनाउन चाहिने छाला र काठ पाउन कठिन हुँदै गएको छ । सामुदायिक वनमा काठ काट्न नपाइने र छाला पनि सहजै उपलब्ध नहुने भएपछि नयाँ मादल उत्पादन गर्न झन समस्या भएको कालीगढहरू बताउँछन् ।  नयाँ मादल बनाउने काम घटे पनि पुराना मादल मर्मत गर्ने काम भने अझै जारी छ ।

नीरकाजी बिशङ्खेले पुरानो मादलको खरी मात्रै लगाउँदा रु दुई हजार, दुवैपट्टि ताल फेर्दा रु चार हजार र एकपट्टि मात्रै फेर्दा रु तीन हजार लिने गरेको बताए ।   नयाँ मादल बनाउने काम घट्दै गएको छ । करिब ५६ वर्षदेखि मादल बनाउने काम गर्दै आउनुभएका ओखलढुङ्गाको ठूलाछापका नीरकाजी बिशङ्खेले यो परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन् ।

उनका लागि तिहार कुनै समय सबैभन्दा व्यस्त सिजन थियो । मादल बनाउन र मर्मत गर्न आउने ग्राहकको चापले फुर्सद मिल्दैन थियो । तिहारको समयमा नयाँ–पुराना गरेर सयौँ मादल बनाउने र मर्मत गर्ने गरेको सम्झना उनलाई अझै याद छ ।

तर अहिले त्यही सिजनमा उनी फुर्सदिला छन् । उनीसँग यसपालि मुस्किलले केही थान मादल मात्रै मर्मतका लागि आएका छन् । “पहिले मादलको काम मनग्यै हुन्थ्यो । अहिले मादल खासै छैनन् । नयाँ मादल पनि खासै बनाउने गरेको छैन,” नीरकाजी भन्छन्, “आफ्नो मेहनत नउठेपछि नयाँ मादल बनाउनै छाड्यौँ, पुराना मादल मर्मत गरेर यसो बसिबियाँलो गर्दैछु ।”

नीरकाजीका अनुसार पहिले मादल बनाउने कामबाट तिहारको सिजनमा रु डेढ लाख भन्दा बढी आम्दानी हुन्थ्यो । कुनै समय त रु दुई लाखदेखि तीन लाखसम्म कमाइ हुने गरेको उनको अनुभव छ । समयसँगै मादलको माग घट्दै जाँदा आम्दानी पनि खुम्चिएको छ । पोहोरसम्म रु ७० हजारदेखि ८० हजारसम्म कमाइ भए पनि अहिले त्यो अवस्था छैन ।

उनका अनुसार अहिले मादलको कामबाट हुने आम्दानी रु २५ हजारदेखि ३० हजारसम्ममा सीमित छ । ठूलाछापमा मादल बनाउने चार पाँच घर छन् । तर सबैको अवस्था उस्तै छ । नयाँ मादल बनाउनेभन्दा पुराना मादल मर्मत गर्ने काम बढी छ ।

ग्राहकको अभाव र कच्चा पदार्थको समस्या दुवै भएपछि नयाँ उत्पादनमा लगानी गर्नसमेत कालीगढहरू हिचकिचाउन थालेका छन् । मादल बनाउने काममा अहिले सबैभन्दा ठूलो समस्या कच्चा पदार्थको अभाव देखिएको छ । मादल बनाउन गाईगोरु, राँगा र बाख्राको छाला आवश्यक पर्छ ।

तर अहिले गाईगोरुको छाला सहजै उपलब्ध हुन छाडेको कालीगढहरूको भनाइ छ । पहिले गाउँमै गाईगोरु पाइने र छालाको व्यवस्था गर्न सजिलो हुने गरेको थियो ।  अहिले गाउँमा गाईगोरु कम हुँदै गएका छन् । छाला पाउन मुस्किल भएपछि राँगा र बाख्राको छाला मिलाएर काम चलाउनुपर्ने अवस्था  छ ।

मादल बनाउन आवश्यक सामग्री सहजै उपलब्ध नहुँदा नयाँ मादल उत्पादन गर्न कठिन भएको नीरकाजी बताउनुहुन्छ । उहाँको अनुभवमा सामग्री जुटाउनै समस्या भएपछि मेहनतअनुसार आम्दानी नहुने अवस्था छ । त्यसैले पुराना मादल मर्मत गरेर पेसा धान्ने प्रयास भइरहेको उनले बताए।  

मादल बनाउने पेशामा आएको सङ्कट नीरकाजीको मात्रै अनुभव होइन । पुस्तौँदेखि मादल बनाउने काम गर्दै आउनुभएका ८० वर्षीय कालीबहादुर विशङ्खेको अनुभव पनि उस्तै छ । उनले १२ वर्षको उमेरदेखि मादल बनाउन थालेका हुन् । बाल्यकालमै सिकेको सीपलाई उनले जीवनको लामो समयसम्म निरन्तरता दिए।

पहिले तिहारको सिजनमा नयाँ मादल बनाउने र पुराना मादल मर्मत गर्ने कामले फुर्सद मिल्दैनथ्यो । यो सिजनमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गरेको उनलाई सम्झना छ ।

त्यतिबेला बजारमा मादल बिक्री नभए अर्को हप्ता लगेर बेच्ने गरिन्थ्यो । मादल मर्मत गर्न आउने ग्राहक पनि उत्तिकै हुन्थे । तर अहिले नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ । उनले बनाएका केही मादल बिक्री हुने आशामा घरमै राखेका छन् ।

“अहिले नयाँ मादल बनाएकै छैन । तीनवटा साना मादल बनाएर राखेको छु,” उनी भन्छन्, “बिक्री भए त हुन्थ्यो, नभए दुःख मात्रै हुन्छ ।” पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि मादल बनाउने पेसा सङ्कटमा पर्नुको अर्को कारण हो । बुबा र बाजेले मादल बनाएको देखेरै सीप सिकेका धनबहादुर बैराङ्गी सार्की अहिले आफ्ना सन्तानले यो पेसालाई निरन्तरता नदिएको बताउँछन् ।

पहिले परिवारमै सीप सिक्ने र पुस्तान्तरण हुने गरे पनि अहिले नयाँ पुस्ता गाउँमा बस्न नचाहने र बाहिर जाने क्रम बढेको उनको अनुभव छ । “बाबुबाजेले गरे, त्यही काममा हामीले पनि सिक्यौँ,” उनी भन्छन्,  “अहिले छोराछोरी अलिकति हुर्केपछि बाहिरतिर हिँडिहाल्छन् । यो काममा हात लगाउँदैनन् ।”

पढाइलेखाइ धेरै नभएकाले पुर्खाको पेसालाई नै आफ्नो काम बनाएको उहाँको भनाइ छ । खेतीपातीसँगै मादल बनाउने काम गरेर जीवन चलाउँदै आउनुभएका उहाँ अहिले काम नपाउँदा समस्यामा छन् । पहिले मादल बनाउने कामबाट दैनिक आम्दानी हुने गरे पनि अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाइने अवस्था छ । काम पाएको दिन रु पाँच सयदेखि हजारसम्म कमाइ भए पनि नियमित काम नहुँदा त्यसले जीविका चलाउन पुग्दैन । धनबहादुर गुनासो गर्नुहुन्छ ।

तिहारको सिजनमा मादल मर्मत गरेर रु पाँच हजारदेखि सात हजार मात्रै कमाइ हुने गरेको उनी बताउँछन् । तर त्यो पनि ग्राहक आए मात्रै सम्भव हुन्छ । मादल मर्मतको काम नियमित नहुँदा आम्दानीको भरपर्दो स्रोत खस्किन थालेको छ ।

मादलको प्रयोग घट्नुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले कारण मानेका छन् । पहिले चाडपर्व, उत्सव र रमाइलोका अवसरमा मादल बजाउने चलन बढी थियो । गाउँघरमा मादलको तालमा गीत गाउने र रमाइलो गर्ने गरिन्थ्यो ।

अहिले डेक र मोबाइलबाट गीत बजाउने प्रवृत्ति बढेको उनीहरूको अनुभव छ । यसले मादलको प्रयोग र माग दुवै घटाएको छ । ठूलाछापकै लगने सार्कीले पनि मादल बनाउने पेसामा आएको परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन् । उनका अनुसार कुनै समय मादल बनाउने काममा उनको घरमा मात्रै होइन, वरपरका १२–१४ जना मानिससमेत संलग्न हुन्थे ।

तिहारको समयमा दुई हप्तासम्म कामको चाप हुन्थ्यो । मादल बनाउन आउने ग्राहकको भीडले कामदारलाई समेत व्यस्त बनाउँथ्यो । अहिले भने त्यो अवस्था छैन । “पहिले लाखभन्दा बढी कमाइ हुन्थ्यो । अहिले मान्छे नै आउँदैनन् । बजारमा लगेर के गर्नु ? गाडीभाडा खर्च गरेर लगे पनि बिक्री हुँदैन ।” उनी भन्छन् ।

उनका अनुसार मादलको माग घट्नुमा डेक र मोबाइलको प्रयोग बढ्नु मुख्य कारण हो । पहिले गाउँघरमा मादल बजाउने चलन थियो । अहिले गीतसङ्गीतका लागि विद्युतीय उपकरणको प्रयोग बढेको छ । मादल बजाउने मानिस नै कम हुँदै गएपछि नयाँ मादल किन्ने ग्राहक घटेका हुन् ।

कुनै समय तिहारको सिजनमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा छन् । यही अवस्था रही रहे मादल बनाउने पेसा मात्रै होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपसमेत हराउँदै जाने चिन्ता कालीगढहरूमा देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार