डलर साटिदिने बहानामा ठगी तथा लुटपाट गरेको आरोपमा काठमाडौंको गोकर्णबाट पक्राउ परेका सुजन तामाङविरुद्ध विगतमा आठपटकसम्म कानुनी कारबाही भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी तामाङको आपराधिक पृष्ठभूमिबारे जानकारी दिएको हो। प्रहरीका अनुसार तामाङलाई बिहीबार साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि चक्कु प्रहार गरी भाग्न खोजेका थिए। चक्कु प्रहारबाट एक प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार बिहीबार साँझ पौने ७ बजे तामाङलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो। त्यसबाट पनि नियन्त्रणमा नआएपछि घुँडामुनि लक्षित गरी एक राउन्ड गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिइएको घिमिरेले जानकारी दिए। प्रहरीका अनुसार तामाङले डलर सटही गर्न आउने व्यक्तिहरूलाई ठगी तथा लुटपाट गरी फरार हुने गरेका थिए।
तामाङको साथबाट ठगीमा प्रयोग हुने २० रुपैयाँ दरका नेपाली नोटका दुई बन्डल, अमेरिकी डलरजस्तै देखिने गरी काटेर राखिएको सेतो कागजको बन्डल, उक्त कागजको बन्डलको माथि र तल राखिएका पाँच-पाँच दरका अमेरिकी डलर तथा एक केजी नक्कली सुनको ढिक्का बरामद गरिएको प्रहरीले जनाएको छ।