आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

पोल्याण्डको क्राकोमा दक्षिणपन्थी अतिवादीको गोली प्रहारबाट ६ जनाको मृत्यु, आक्रमणकारीको घरमा थप तीन शव फेला

सक्रिय न्युज · २५ मिनेट अगाडि प्रकाशित
पोल्याण्डको क्राकोमा दक्षिणपन्थी अतिवादीको गोली प्रहारबाट ६ जनाको मृत्यु, आक्रमणकारीको घरमा थप तीन शव फेला
काठमाडौं, कात्तिक २२ :

दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रेरित भएको आशंका गरिएका एक बन्दुकधारीले पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार दिउँसो आक्रमणकारीले लोकप्रिय पर्यटकीय गन्तव्य क्राकोको मुख्य बजार क्षेत्रमा गाडी चलाएर गएका  थिए। त्यसपछि उनले जथाभावी गोली चलाउन थालेका थिए।

सैन्य शैलीका हतियार र पोसाकसहित आएका आक्रमणकारी प्रहरीसँगको गोली हानाहानमा घाइते भएका थिए। उक्त घटनामा एक प्रहरी अधिकारी पनि गम्भीर घाइते भएका छन्।

२५ वर्षीय पोलिस नागरिकलाई एक मन्त्रीले अतिराष्ट्रवादी (अल्ट्रा नेसनलिस्ट) भनेर वर्णन गरेका छन्। उनलाई शल्यक्रियाका लागि अस्पताल लगिएको छ।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले क्राकोबाट करिब २०० किलोमिटर टाढा रहेको संदिग्धको घरमा खानतलासी गर्ने क्रममा थप तीनवटा शव फेला परेको बताएका छन्।

टस्कका अनुसार ती दुई महिला र एक पुरुष संदिग्धका नजिकका परिवारका सदस्य भएको आशंका छ।

उनले भने ‘अहिलेसम्म पोल्याण्डमा यति भयावह प्रकृतिका आतंकवादी घटना भएका थिएनन्। क्राकोमा मानिसहरूको ज्यानमाथि भएको यो क्रूर आक्रमणलाई हामीले आतंकवाद नै भन्नुपर्छ।’

मुख्य बजार क्षेत्रमा भएको आक्रमणमा चार महिला र दुई पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मृतकमध्ये तीन जना पोल्याण्डका, एक जना बेलायती नागरिक र अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन।

बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले क्राकोमा भएको गोलीकाण्डप्रति दुःख व्यक्त गरेका छन्।

उनले भने ‘आज क्राकोमा भएको भयानक गोलीकाण्डबाट म स्तब्ध र दुःखी भएको छु।’

उनले घटनामा ज्यान गुमाउनेका परिवार, घाइते तथा हिंसाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै बेलायत पोल्याण्डका जनताको साथमा रहेको बताएका छन्।

स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे (ग्रिनविच समयअनुसार २ बजे) क्राकोको ऐतिहासिक केन्द्रमा आक्रमण सुरु भएको थियो। पर्यटकहरूको प्रमुख आकर्षण रहेको उक्त क्षेत्र भव्य ऐतिहासिक संरचना र खुला बजार क्षेत्रका लागि परिचित छ।

घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा आक्रमणकारीको गाडी तीव्र गतिमा सहरको केन्द्रबाट गुडिरहेको देखिन्छ। गोली चलेको आवाज सुनिएपछि मानिसहरू ज्यान जोगाउन भागाभाग गरेको दृश्य पनि भिडियोमा देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार