
तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।
वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी हुनुहुन्छ । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उहाँको व्यस्तता बढ्न थालेको छ ।
यस व्यवसायबाट वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले करिब चार रोपनी क्षेत्रफलमा फूलखेती गरिहनुभएको छ ।
तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उहाँ बताउनुहुन्छ । यसपटकको तिहारमा दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने उहाँको अनुमान छ ।
तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यावसायिक रूपमा खेती सुरु गरेको उहाँले बताउनुभयो । पहिलो वर्षमा नै नसोचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाएको उहाँ बताउनुहुन्छ ।
उत्पादन भएको फूल प्रतिकिलो पाँच सय खुद्रा, होलसेल चार सय, प्रतिमाला एक सय ५० खुद्रा, होलसेल एक सय २० कायम गरिएको छ ।
बुटवल, नेपालगञ्ज, तानसेन लगायत विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापाले बताउनुभयो । रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्री गर्दै आएको लालबहादुरले जानकारी दिनुभयो ।