काठमाण्डौँ , कात्तिक १७ :

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।

लक्ष्मीपूजाको दिन हिजो साँझ ६. २५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

त्यस्तै, देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । 

यस वर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ ।