
पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका- ५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने हुँदैछ ।
पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो ।
मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो ।
आज रातभर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । भोलि बुधबार बिहान ५ बजे सरकारी पूजासहित नियमित पूजापाठ सुरु हुने छ भने बिहान १० बजे प्रसाद वितरण कार्यक्रम हुने उहाँले बताउनुभयो ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको जानकारी दिनुभयो । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ ।
केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सार्वजनिक बिदासमेत दिन थालेको छ ।