महोत्तरी, मंसिर ६ :

मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतका लागि महोत्तरीमा तयारी थालिएको हो । 

जन्ती नेपाल प्रवेश गर्ने नाका महोत्तरीको मटिहानी र भिठ्ठामोर हुन् । अहिले जिल्लाका मटिहानी, जलेश्वर र पिपरामा जन्तीको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ । 

यस वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बोलाउने श्रीरामको तिलकोत्सवको कार्यक्रम जनकपुरधामबाट गएको टोलीले भारतको अयोध्यामा सम्पन्न गरेको छ । 

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले गत सोमबार अयोध्यामा जन्ती आउने जानकी मन्दिरको निमन्त्रणापत्र अयोध्यास्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायलाई हस्तान्तरण गरिसकेको छ । 

मैथिल परम्परामा मङ्सिर सघन रुपमा विवाहसम्बन्ध जोड्ने उपयुक्त महिना मानिन्छ । कैयन हासपरिहासका रमाइला विधिले सम्पन्न गरिने हिन्दु मैथिल परम्पराको विवाह आफैँमा उत्सव रहेको जानकारहरु बताउँछन् ।

यसमा आराध्य देव श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको महिना मङ्सिर भएकाले मैथिलका लागि यो महिना पहिलेदेखि विशेष उत्सवको रुपमा रहँदै आएको छ । 

अहिले यही विवाह महोत्सवका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्धका लागि तयारी थालेका छन् ।

मङ्सिर शुक्लपञ्चमीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मुख्य विवाहको विधि भने यसपालि मङ्सिर २१ गते शुक्रबार परेको छ ।