बाँके, साउन २६ :

आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले आज नाग पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । 

आजको दिन यो समुदायले घरपरिवार, आफन्त, टोल-छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँदछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । यो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने  धार्मिक विश्वास रहिआएको छ ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । यस दिन सबैको घरमा खाने परिकार अन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ ।

घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामर्थ्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको अवधी अगुवा पण्डित शिवप्रसाद पाठकले जानकारी दिनुभयो । 

उहाँले सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वनजङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता समान मान्ने गरिएको पनि बताउनुभयो ।