काठमाण्डौं, पुस १३ :

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउँदै हुनुहुन्छ ।

उहाँ निजी भ्रमणका लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उहाँलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने जनाएको छ ।

अन्य भेटघाट र भ्रमण उहाँले आफ्नै हिसाबले निजी रूपमा गर्नुहुने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपाल भ्रमणका क्रममा लुम्बिनी समेत जानुहुने कार्यक्रम छ ।

भ्रमण सम्पन्न गरी उहाँ यही पुस १७ गते स्वदेश फर्कनुहुनेछ ।

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास खोलेकामा सन् १९९५ मा कोलम्बोमा नेपाली राजदूतावास स्थापना भएको थियो । 

त्यस्तै काठमाडौँमा सन् १९९३ देखि श्रीलङ्काको आवासीय दूतावास रहेको छ ।

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलङ्काबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । 

लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलङ्का सरकारले सहयोग गरिरहेको छ ।

श्रीलङ्काले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ । नेपालमा प्रत्येक वर्ष श्रीलङ्काबाट ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।