
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग रुसी हवाई क्षेत्रमा एउटा व्यावसायिक विमान खसालेकोमा क्षमा याचना गरेका छन् ।
क्रिसमसको दिन भएको दुर्घटनाबारे आफ्नो पहिलो टिप्पणीमा पुटिनले रुसको हवाई प्रतिरक्षा प्रणालीले युक्रेनी ड्रोनलाई सक्रिय रूपमा प्रतिकार गरिरहेका बेला 'दुःखद घटना' भएको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने रुसले आक्रमणबारे गलत सूचना फैलाउन बन्द गर्नुपर्ने बताएका छन् ।
चेचन्यामा अवतरण गर्न खोज्दा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट आक्रमण भएको र क्यास्पियन सागर पार गर्न बाध्य भएको बताइएको छ ।
कजाखस्तानमा दुर्घटनाग्रस्त विमान दुर्घटना हुँदा विमानमा सवार ६७ मध्ये ३८ जनाको मृत्यु भएको थियो ।
क्रेमलिनले आज एक विज्ञप्ति जारी गर्दै पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग फोनमा कुरा गरेको उल्लेख गरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी हवाई क्षेत्रमा भएको दुःखद घटनाका लागि क्षमा याचना गर्दै मृतकका परिवारप्रति गहिरो र हार्दिक समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
क्रेमलिनमा लेखिएको उक्त विमानमा रुसी क्षेप्यास्त्र प्रहार भएको कुरा प्रत्यक्ष रुपमा स्वीकार गरिएको छैन ।
यसअघि क्रेमलिनले उक्त दुर्घटनामा आफ्नो संलग्नता छ वा छैन भन्ने बारे केही बताउन अस्वीकार गरेको थियो । तर रुसी उड्डयन अधिकारीहरूले चेचन्यामा युक्रेनी ड्रोन आक्रमणका कारण यस क्षेत्रको अवस्था 'निकै जटिल' भएको बताएका थिए।
उड्डयन विज्ञ र अजरबैजानका अन्य अधिकारीहरूले विमानको जीपीएस प्रणाली इलेक्ट्रोनिक जामिङका कारण प्रभावित भएको र त्यसपछि रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटबाट छर्राले क्षतिग्रस्त भएको बताएका छन् ।