काठमाडौँ, पुस १८ :

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुशताको सूत्रधार भएको आरोप लगाउनुभएको छ ।

गुटगत राजनीतिलाई फूलाउने फलाउने मुख्य योजनाकार ओली भएको भन्दै रावलले उनको गलत कामको विरोध गर्नेलाई तेजोबध गर्ने गरेको पुरानो दृष्टान्त पेस गर्नुभएको हो ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेता रावलले केपी ओलीले जालझेल र धाँधली गरेर पार्टी र सरकारको नेतृत्व हत्याएको आरोप लगाउनुभयो । 

एमालेको पार्टी अधिवेशनको विभिन्न परिघटनालाई  सार्वजनिक गर्दै नेता रावलले भन्नुभयो, ‘गुट संचालन र षडयन्त्रको तानबुना बुनेर आफूलाई पार्टीमा होच्याउने र अपमानित गर्ने केपी ओलीले गरेका हुन् ।’

नेता रावलले आफूलाई मूल राजनीतिक धारबाट अलग्याउने र उल्टै पार्टीको सम्पर्कमा नआएको भनेर गलत प्रचार गर्ने ओली प्रवृत्तिको डटेर सामना गरेको उल्लेख गर्नुभयो । 

केपी ओलीले झुटा कुरा गरेर पार्टीमा ओलीको विरुद्ध उम्मेदवारी दिँदा आफू कारबाहीमा परेको तर केपी ओली पटक-पटक झलनाथ र माधवकुमार नेपालसँग चुनाव लडेको रावलले स्मरण गराउनुभयो ।