काठमाडौं, पुस १९ :

काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनमा हाल कास्की प्रहरीको हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४० जनाभन्दा बढी प्रतिवादीविरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस गरिएको छ।

अनुसन्धान प्रतिवेदन तयार भएको र आजसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी गरिएको छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा आरोपपत्र दायर गर्दा प्रतिवादी र हिनामिना भएको रकमको बिगो तलमाथि हुन सक्ने भएकाले प्रहरीले सबै विवरण भने सार्वजनिक गरेको छैन ।

अनुसन्धान प्रतिवेदनमा परिसको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहरकारीका लेखा सदस्य सुनीता नेवा र कर्जा सदस्य कमल लामासहित पूर्वअध्यक्ष जीबी राई, देवेन्द्रबाबु राई, रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सविना आलेमगर, कुमार रम्तेल लगायतविरूद्ध मुद्दा चलाउनुपर्ने राय प्रतिवेदनमार्फत दिइएको छ।

स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले जम्मा गरेका कुल दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपियाँमध्ये एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो अपचलन भएको पाइएको छ ।

हिनामिना भएकोमध्ये झन्डै ६४ करोड रुपियाँ अवैध रूपमा गोर्खा मिडिया लगी अपचलन गरेको पाइएको छ । 

प्रहरीको अनुसन्धानमा सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसहितले गोर्खा मिडिया नेटवर्कमा मात्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपैयाँ लगेको भेटिएको छ । प्रहरीले गोर्खा मिडियाको हकमा उक्त रकम नै बिगो मागदाबी गरेको छ।