
अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्षको दिन १५ जनाको ज्यान जाने गरी भएको आक्रमण अमेरिकी सेनाका भूतपूर्व सैनिक शमसूद-दीन जब्बारले गराएको पुष्टी भएको छ ।
न्यू अर्लियन्स शहरको फ्रेन्च क्वाटरमा ठूलो भीडमा पुगेको पिकअप ट्रकका चालक टेक्सासका अमेरिकी सेनाका भूतपूर्व सैनिक रहेको बीबीसीले उल्लेख गरेको छ । उनी प्रहरीसँगको गोली हानाहानमा मारिएका छन् । सो आक्रमणमा अन्य दर्जनौं घाईते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणकारी इस्लामिक स्टेट समूहबाट प्रेरित भएको र एफबीआईले सो पिकअप ट्रकमा आइएसको झण्डा फेला परेको बताएका छन् ।
४२ वर्षीय उनले अमेरिकी सेनामा मानव संसाधन र आईटी लगायत विभिन्न भूमिकामा काम गरेका थिए । उनी फेब्रुअरी २००९ देखि जनवरी २०१० सम्म अफगानिस्तानमा तैनाथ थिए। उनले सन् २०१५ देखि २०१७ सम्म जर्जिया स्टेट युनिभर्सिटीमा अध्ययन गरेका थिए ।
जब्बारले दुई पटक विवाह गरेका थिए । उनको पहिलो विवाह सन् २०१२ मा टुंगिएको थियो भने दोस्रो विवाह सन् २०१७ देखि २०२२ सम्म चलेको थियो ।ट्राफिक अपराध र चोरीसँग सम्बन्धित आपराधिक रेकर्ड समेत रहेको उनको रियल इस्टेटमा समेत संलग्नता रहेको देखिन्छ ।
लस भेगासको ट्रम्प होटेलबाहिर टेस्ला साइबर ट्रक विस्फोटको केही घण्टापछि भएको विस्फोटसँग यो आक्रमणको सम्बन्ध छ कि छैन भनेर पनि अनुसन्धान भईरहेको बताईएको छ । तर राष्ट्रपति बाइडेनले यी दुई घटनाबीच कुनै सम्बन्ध रहे नरहेको पत्ता नलागेको बताएका छन् ।
अधिकारीहरूले आक्रमणमा संलग्न ४२ वर्षीय शमसूद-दीन जब्बार र आइएस समूहबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएका छन्।
यो समूहले करिब एक दशकअघि सिरिया र इराकको ठूलो भूभाग आफ्नो कब्जामा लिएको थियो । अहिले यो समूहको धेरै महादेशमा सदस्यता रहेको छ ।
सन् २०१५ मा पेरिसको बाटाक्लान कन्सर्ट हलमा भएको आक्रमणमा १ सय ३० जनाको ज्यान जाने गरी भएको आक्रमण लगायत युरोपमा आइएसले ठूलो संख्यामा हताहतीका घटनालाई उक्साएको थियो ।
यो समूहले हिंसा भड्काउन सामाजिक सञ्जालको प्रयोग गर्दै हालै गाजामा इजरायलको जारी युद्धको बदला लिन आह्वान समेत गरेको छ ।