साउन २८ :

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पदाधिकारी छनौट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने तयारी सो पार्टीले गरेको छ ।

पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न लागेको सो पार्टीले जनाएको छ । 

 पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्न लागिएको समेत सो पार्टीले जनाएको छ । 

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी ३ पदाधिकारी छन् । 

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान, कार्यक्षमताका आधारमा छनोट गरिने जनाइएको छ ।