कञ्चनपुर, माघ ८ :

हमास- इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।

हमास- इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । 

युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ । 

विपिनकी आमा पदमाले भनिन्, “युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।” उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन् ।  

“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भनिन्, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।” 

विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । 

आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।

इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन । 

विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । “सरकारसँग प्राप्त सूचना अनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,” गृहमन्त्री लेखकले भनेका छन्, “अहिले हमास- इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।” 

उनले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल जारी राखिएको पनि बताए ।