काठमाडौं, माघ १५ :

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताएका छन् ।

हालै सरुवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटिएर जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले सफलताको कामना गरे ।

कुँवरले संगठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए । व्यक्तिगत स्वार्थभन्दा सांगठनिक स्वार्थलाई केन्द्रविन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमान्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकताअनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनका निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड थियो ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कार्यविभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरुङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंह, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्र केसीले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवं निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिएका थिए ।