
सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मृतिसभा सुरु हुनुअघि शान्ति वाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहल हुँदै लैनचौर पुगेको थियो ।
श्रद्धाञ्जली सभामा स्मृति मन्तव्य राख्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहिदहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनुपर्ने धारणा राखिन् । राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको उनको भनाइ थियो ।
‘सहिदहरुको योगदान स्मरण गर्दै महानगरपालिकाले संरचना निर्माण गर्ने तथा सहिदकै नाममा सेवा सञ्चालन गर्ने काम गरिरहेको छ । धर्मभक्त पार्क, माथेमाका नाममा मानव सेवा आश्रम निर्माण, सहिद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सहिदका नाममा महानगरपालिकाले गरेका काम हुन्,’ उनले भनिन्, ‘विगत वर्ष झैँ यस वर्ष पनि महानगरपालिकाले सहिद सप्ताहका कार्यक्रम आयोजना गरेको छ ।’
सहिदको बलिदानीबाट प्राप्त भएको स्वतन्त्रताको गरिमा बचाउनुपर्ने सहिद सप्ताह समारोह समिति संयोजक ख्यामराज तिवारीको भनाइ छ । ‘हुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरुले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहूति गरेपछि प्राप्त भएको अवस्था अहिले हामीले भोग गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेको शासन, स्वतन्त्रता र स्वाधीनता सहिदहरुको बलिदानीबाट प्राप्त भएकाले यसको गरिमा बचाउन आवश्यक छ ।’
माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आएको छ । २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस वर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको हो ।
प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुकै सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा १९९७ साल माघ १० गतेदेखि १५ गतेका बीच ४ जना सहिदलाई प्राणदण्ड दिइएको थियो ।
त्यो वर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।