
‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइँदै छ ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।
सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउँछन् ।
“क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उनले भने, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राख्छन् । उनले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिए ।
“क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्किएका छन्”, उनले भने, “तेस्रो र चौथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ । ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ ।”
नेपालमा सस्तो उपचार
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ । क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उनले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने बताए ।
उनले सरकारी अस्पतालमा ४० देखि ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा पाँच लाखसम्म लाग्ने बताए । “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ । साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि एक लाख उपलब्ध गराउने गर्दछ”, उनले भने ।
क्यान्सर हुनुका कारण
क्यान्सर अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकीरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन् ।
विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमणले हुने गरेको छ । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी हुने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
पछिल्लो सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार छ सय २९ जनाको मृत्यु भएको थियो । उनले नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेका जानकारी दिए ।
पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
क्यान्सर रोकथामसम्बन्धी सरकारका कार्यक्रम
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताए ।
सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।