
काठमाडौँ, माघ २३ :
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ललितपुरमा सोमबार राती भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न नसकेको जनाइएको छ ।
आज बिहान ११ बजे पुनः वार्ता बस्ने गरी बैठक स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । वार्ता सकारात्मक भएपनि कुनै निष्कर्ष ननिस्किएकोले आज पुनः बैठक बस्ने सहमति भएको उनले बताए ।
वार्ताका क्रममा आन्दोलनरत पक्षले केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायतका माग राखेका छन् ।