राजस्थान, माघ २३ :

राजस्थानमा चर्चित अनिता चौधरी हत्या प्रकरणको अनुसन्धान अब सीबीआईलाई हस्तान्तरण गरिएको छ । अनिताका परिवारका सदस्यहरूले यस विषयको अनुसन्धान सीबीआईले गर्नुपर्ने निरन्तर रुपमा माग राख्दै आएका थिए ।

जोधपुरका प्रहरी आयुक्त राजेन्द्र सिंहले फोनमा बीबीसी हिन्दीलाई सीबीआई अनुसन्धानको जिम्मा दिने निर्णयबारे जानकारी गराए ।

यस विषयमा नागौरका सांसद हनुमान बेनिवाल भन्छन्, ‘जोधपुरकी अनिता जाटको जघन्य हत्या प्रकरणमा न्यायको माग गर्दै ठुलो आन्दोलन भएको थियो । वार्तामा यो मुद्दाको अनुसन्धान सीबीआईबाट गर्ने सहमति भएको थियो ।’

सांसद बेनिवालले यस घटनामा पर्दा पछाडि बसेका अपराधीहरूलाई समात्न सीबीआईले कारबाही गर्ने आशा व्यक्त गरेका छन् ।

के हो घटना ?
५० वर्षीया सौन्दर्यविद् अनिता चौधरी अक्टोबर २७, २०२३ को दिउँसो बेपत्ता भइन् । पछि प्रहरीले अनिता चौधरीको शव ६ टुक्रा पारिएको अवस्थामा फेला पारेको थियो । यस घटनामा परिवारका सदस्यहरूले मुख्य अभियुक्त गुलामुद्दीनलाई पक्राउ गर्न र अन्य मागहरू राख्दै २० दिनसम्म धर्ना दिएका थिए ।

यस क्रममा सांसद हनुमान बेनिवालले विरोध स्थलमा पुगेर ठुलो आन्दोलनको चेतावनी दिएका थिए । त्यसपछि राज्य सरकार र परिवारबीच सम्झौता भएको थियो र २१औं दिनमा शव दाहसंस्कार गरिएको थियो ।

यस घटनामा जोधपुर प्रहरीले मुख्य अभियुक्त गुलामुद्दीन र उनकी श्रीमती आबिदालाई पक्राउ गरेको थियो । मुद्दाको अनुसन्धानपछि प्रहरीले हालै अदालतमा आरोपपत्र पेस गरेको छ ।

आरोपपत्र पेस गरेपछि अनुसन्धान अधिकृत सुनील पनवारले पत्रकारहरूलाई भने कि- हत्या-लुटपाटको नियतले गरिएको कुरा प्रकाशमा आएको छ ।

क्याप्सन: ब्युटी पार्लर सञ्चालक अनिता चौधरीको शव ६ टुक्रामा प्रहरीले फेला पारेको थियो ।