माघ २४ :

 

तोकियो जिम्मेवारी
नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी तोकेको छ । जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ । 
यस्तै पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा वेदुराम भुसाल र विजय पौडेललाई जिम्मेवारी तोकिएको छ । यस्तै विदेश विभागको प्रमुखमा प्रमेश हमाल, प्रचार विभाग प्रमुखमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

 

जिल्ला न्यायाधिवक्तामाथि एक्सन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई संगठित अपराधमा मुद्दा नचलाएकामा चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन अघि बढाइएको छ । सहारा चितवन सहकारी ठगीको कसुरमा मात्रै रविलाई मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्ता चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले अभियोगपत्रको विषयलाई लिएर लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गर्दै नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।

धुमधामको घुमघाम
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् । पत्नी सोफीसहित भक्तपुर दरबार क्षेत्र अवलोकनमा गएका उनले त्यहाँका परम्परागत कला र संस्कृतिको चाखपूर्वक अवलोकन गरेका थिए ।
राजकुमार एडवर्डले पनि आफैंले छिनो र हथौडा चलाएर केहीबेर बुट्टासमेत कुँदेका थिए । नेपाल भ्रमणका क्रममा उनी हिमालय क्षेत्रको भ्रमणमा पनि जाने भएका छन् । उनी माघ २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

१० विकेटले पराजित
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला टी-ट्वेन्टी आई क्रिकेट शृंखलामा बुधबार नेपालमाथि १० विकेटको विजय हात पारेको छ । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा विनाकुनै विकेट क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सकी ओपनर फेबे मोलकिनोबरल ४८ तथा स्टिर कालिसले ९८ रन बनाइन् ।
स्टिरले ६८ बलमा ९८ रन बनाएकी हुन् । ६८ बलको सामना गरेकी उनले ११ चौका र दुई छक्कासमेत प्रहार गरिन् । फेबेले ४९ बलमा ४८ रन बनाइन् । यो जितसँगै नेदरल्यान्ड्सले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । अब नेदरल्यान्ड्स र थाइल्यान्ड बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

नेप्सेमा पुन: गिरावट
नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन १४ दशमलव शून्य आठ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) पनि चार दशमलव ४५ अंकले घटेर २७ सय ११ दशमलव ४५ अंकमा झरेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शून्य सात अंकले घटेर चार सय ५६ दशमलव शून्य चार अंकमा झरेको छ ।
नेप्सेमा आज ३०९ कम्पनीको ९० हजार सात सय ५२ पटकको कारोबारमा एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसमा कुल कारोबार रकम आठ अर्ब ९५ करोड ८० लाख सात हजार तीन सय पाँच रुपैयाँ पुगेको छ ।