काठमाडौं, माघ २५ :

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि आवश्यक एचभीपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचभीपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखी कार्यान्वयनमा आएको बताए । योसँगै राष्ट्रिय खोप तालिकामा ११ वटा खोपहरु समावेश गरिएको मन्त्री पौडेलले बताए ।

उनले नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र ४ जना महिलाको यही रोगको कारण मृत्यु हुने गरेको उल्लेख गरे । उनले नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको उल्लेख गर्दै यसको यसको न्यूनीकरणका लागि निश्चित लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए ।

उनले डब्ल्यूएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्‍याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपीभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको बताउँदै त्यही रणनीतिको आधारमा सरकार अघि बढिरहेको दाबी गरे ।

‘नेपालका पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने संख्या हरेक वर्ष उच्च छ । नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने ४ जना महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको छ,’ उनले भने, ‘डब्ल्यूएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वस्थ्य समस्याका रुपमा नरहने अवस्थामा पुर्याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको छ ।’

उनले विश्वमा रहेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको पनि बताए । मन्त्री पौडेलले सन् २०३० सम्ममा यो संख्या वृद्धि भएर ७ लाखसम्म पुग्ने अनुमान गरिएको समेत उल्लेख गरे ।