ललितपुर, माघ २५ :

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघले ललितपुरमा बिहीार पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालमा ५९ उद्योग सञ्चालन रहेको बताए । उनले नेपालमा विस्फोटक ऐन कानुन र नियमन गर्ने निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको बताए ।

उनले नेपाली ढुवानीसाधन नहुँदा वार्षिक खर्बौं रुपैयाँ विदेशिएको बताए । उनले एकतर्फी ढंगबाट लगानीको संरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग सञ्चालनलाई निरन्तरता दिन नसक्ने बताए । संघले माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने पनि अध्यक्ष घिमिरेको भनाइ छ ।

उनले फागुन १ गते बिहीबारदेखि २०८१ फागुन ५ गते सोमबारसम्म सबै ग्यास उद्योगहरुले विरोधका कार्यक्रमबारे स्थानीय सबै संघ-संस्था सञ्चारमाध्यमहरुमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचार गर्ने बताए । उनले फागुन ६ गते मंगलबारदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको बुलेट कुनै पनि लोड नगर्ने/नगराउने उल्लेख गरे । उनले फागुन १२ गते सोमबारदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्यास बुलेटहरु कुनै पनि भन्सार नाकाबाट नछुटाउने उल्लेख गरे ।

उनले  फागुन १८ गतेदेखि सबै नेपालका ५९ उद्योग जायज मागहरु सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने घोषणा गरे । उनले फागुन २२ गतेदेखि देशभरका ग्यास विक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिदिन अनुरोध गर्ने बताए । सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने पनि घिमिरेले माग गरे ।

अध्यक्ष घिमिरेले एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागु गरिनुपर्ने माग राखे । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकाले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग पनि संघले गरेको छ ।