
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महसुस गरेको बताइन् ।
अरुणोदय माध्यामिक विद्यालयको ६०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शुक्रबार उनले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताइन् । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमुना प्रस्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताइन् । देशमै परिवारसँग बसेर केही गरौं भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको पनि बताइन् । देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको भन्दै उनले राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने धारणा राखिन् ।
भण्डारीले शिक्षा प्रणालीमा अमूल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताइन् । रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताइन् । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताइन् ।
देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने पनि उनले बताइन् । ‘शिक्षा क्षेत्र बरालिएको हो कि भन्ने अनुभव मैले गरेको छु । जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मूल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरु बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले हाइस्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरुले देखाइरहेको छ,’ उनले भनिन्, ‘हिजो जुन आवश्यकताले हाइस्कुलहरु वा स्कुलहरु गाउँमा खोलेका थियौं । अहिले तिनीहरु शून्य-शून्य जस्तो छ । हिजोको जस्तो बस्ती गाउँमा छैन । स्कुलहरु मर्जरमा जानुपर्नेजस्तो अवस्था देखिएको छ । कलेजहरुको अवस्था पनि त्यस्तै छ । संख्या पनि कम छ । त्यसको व्यवस्थापन धान्न पनि मुस्लिक परिरहेको देखिन्छ ।’
‘शिक्षा क्षेत्र बरालिएको छ’
उनले देश विकास गर्ने अनुकूल समय अहिले रहेको बताइन् । विगतमा तीन/तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकामा अहिले सरकार स्थायी रहेको बताइन् । उनले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आमनागरिकमा रहेको पनि बताइन् ।
‘अहिले अनुकूल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, तीन/तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो । अहिले दुईवटा ठूला राजनीतिक दलहरु मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरुलाई शुभकामना छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’
उनले जीडीपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताइन् ।