रसुवा, माघ २६ :

समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको डढेलो नियन्त्रणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ ।

निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका- १ मूलथला क्षेत्रको जङ्गलमा माघ २२ गतेदेखि अचानक लागेको डढेलो अनियन्त्रित भएपछि सहयोगका लागि अपिल गरिएको हो । 

निकुञ्जको नुवाकोटतर्फको आधार इलाकामा फैलिएको डेढेलोले अहिलेसम्म करिब १५ हेक्टर वन क्षेत्र सखाप पारेको र डढेलो तीव्र रुपमा फैलिरहेको निकुञ्जले जनाएको छ ।   

लालीगुराँसलगायत विविध प्रजातिको वनस्पति भएको एक हजार ५०० भन्दा बढी हेक्टर बनजङ्गल आगोको चपेटामा परिसकेको बताउँदै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज संरक्षणमा तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको प्रयासले मात्र आगो नियन्त्रण गर्न कठिनाइ परेको बताए ।

डढेलो निभाउनका लागि स्थानीय जनसमुदाय, सामाजिक सङ्घसंस्थासहित  हेलिकोप्टर कम्पनीहरूसँग समेत सहयोग माग गरिएको उनले जानकारी दिए ।

यो वर्ष हिमपात र पानी नपरेपछि सुक्खा खडेरी बढेको र जङ्गलमा पातपतिङ्गर समेत बढेकाले आगो नियन्त्रणका लागि माथिबाट पानी छ्याप्नेभन्दा अन्य विकल्प नभएकाले हेलिकोप्टर व्यवस्थापनका लागि रसुवा तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी र निकुञ्ज विभागलाई अनुरोध गरिएको निकुञ्जले जनाएको छ ।

वि. सं २०३२ मा स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा ५७ प्रतिशत रसुवा, सात प्रतिशत नुवाकोट र ३६ प्रतिशत सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र समेटिएको छ ।