काठमाडौं, फागुन ३ :

जलवायु परिवर्तनको असर कम गर्न सञ्चारमाध्यमसँगको समन्वय र सहकार्य बढाउने सरकारी तथा गैरसरकारी निकायले प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले मौसममा आएको परिवर्तनको प्रभावबाट बच्न सूचना प्रवाह र मौसमजन्य विपद्को प्रतिकार्यमा सञ्चारमाध्यमको प्रशंसनीय रहेको बताएका हुन् । १४औं विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीले सरकारले बनाउने जलवायु परिवर्तनको प्रभावसम्बन्धी योजनामा सञ्चारमाध्यमलाई पनि समेट्नुपर्ने धारणा राखेका हुन् ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर कम गर्ने सरकारको अभियान कार्यान्वयनमा सञ्चारमाध्यमसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा रहेका सामुदायिक रेडियोको क्षमता विकास महत्त्वपूर्ण भएको औँल्याउँदै त्यसका लागि आफ्नो मन्त्रालय सहयोगका लागि सकारात्मक भएको उनको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक रुपान्तरण, भाषिक विविधताको संरक्षणमा रेडियोको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखिन् । प्रविधिमा आधारित प्रसारण तथा सामग्री उत्पादन र नागरिकको सहभागिता बढाउनु नै रेडियोको दिगोपनाको विकल्प रहेको उनको भनाइ छ ।

‘जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतमा निर्भर सीमान्तकृत समुदायको दैनिकी जटिल भन्दै गएको छ । रेडियोले नागरिकको व्यवहार, आनिबानी परिवर्तनका लागि सामग्री उत्पादन तथा प्रसारणमा ध्यान दिनुपर्ने देखिएको छ,’ सचिव अर्यालले भनिन् । दिवसका अवसरमा गरिएको ‘नागरिक सहभागिता र सञ्चार’, ‘मौसमको प्रभावकारी सूचना प्रवाहमा सञ्चारमाध्यम’, ‘विपद् पूर्वसूचना र प्रतिकार्यमा सञ्चारमाध्यम’ विषयक छुट्टाछुट्टै छलफल गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ७५३ वटै पालिकासम्म मौसम पूर्वानुमानको सूचना पुर्‍याउने व्यवस्था गरेको जानकारी दिँदै सूचनाको यो अभियानमा नेपालका सामुदायिक रेडियोसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । क्षति न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले विपद्को पूर्व तयारी र सामना गर्न सबै सञ्चारमाध्यमबाट विगतमा प्रभावकारी सूचना वितरण भएको बताए ।

आगामी दिनमा विपद्को पूर्व तयारीका लागि सञ्चारमाध्यमसँगको सहकार्य बढाउने प्रतिबद्धता जनाउँदै उनले मौसम पूर्वानुमान अझ भरपर्दो बनाउन सरोकारवाला निकायबीच अझ प्रभावकारी समन्वय आवश्यक भएको औँल्याए । कार्यक्रममा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कति पानी कहाँ पर्छ भन्ने पूर्वानुमान हिजोआज भरपर्दो हुँदै गएको उल्लेख गर्दै रेडियोले आधिकारिक सूचना प्रवाहका लागि सजगता अपनाउनुपर्ने सुझाए । स्थानीय सरकारलाई बेलाबेलामा सामुदायिक रेडियोले झकझक्याउने हो भने विपद् पूर्वको योजना बनाउन र कार्यान्वयनका लागि उनीहरूलाई दबाब पुग्ने उनको भनाइ थियो ।

संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले हावापानीमा आएको परिवर्तनका कारण परेको प्रभाव कम गर्ने गरी काम थाल्न सरकारलाई निर्देशन दिँदै आएको सम्झँदै आगामी दिनमा सरकारलाई आवश्यक ऐन्, कानुन निर्माणका लागि ताकेता गर्ने प्रतिबद्धता जनाइन् । ६२ प्रतिशत जनता कृषिमा अनि त्यसमा पनि प्रकृतिमा आश्रित भएको उल्लेख गर्दै सूचना समाजमा पुर्‍याउन समाजमा रहेका विभिन्न सकारात्मक प्रथा, अभ्यासलाई पनि उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले जलवायु परिवर्तनले पारेको असर र पूर्व तयारीबारे जानकारी पाउनुपर्ने सर्वसाधारणको अधिकार रहेको बताए । उनले डिजिटल माध्यमको बिगबिगी बढिरहेको अवस्थामा पुरानै स्वरुपमा पनि रेडियोको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै डढेलो, बाढी, पहिरोलगायत प्राकृतिक विपद्‌का समयमा सबैभन्दा सशक्त माध्यम सामुदायिक रेडियो रहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सीमान्तकृत समुदायलाई सूचना पुर्याउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले सामुदायिक रेडियोसँग एकदमै ठूलो शक्ति रहेको बताउँदै रेडियोले प्रवाह गरेको सूचनाका कारण कैयौं नागरिकको जीवन जोगिएको बताउँदै जलवायुमैत्री नीति बनाउन बहस चलाउँदै सरकारको ध्यानकर्षण गराउने काम सामुदायिक रेडियोले गर्न सक्ने उनको भनाइ थियो ।

नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले रेडियो ज्येष्ठ नागरिक सबैभन्दा नजिकको साथी रहेको उल्लेख गर्दै रेडियोको महत्त्व अझै यथावत् रहेको बताए । अध्यक्ष ढुंगानाले सामुमदायिक रेडियोसँग आफू सहकार्य गर्न तयार रहेकोसमेत बताए ।