
कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशमा धुर्कोट गाउँपालिका पहिलो भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०- ८१ को तथ्याङ्कानुसार लुम्बिनी प्रदेशका गाउँपालिकामध्येमा धुर्कोट गाउँपालिका प्रथम भएको हो ।
आयोगका अनुसार धुर्कोटले ७६ दशमलव सात अङ्क प्राप्त गरेको छ । प्रदेशमा गाउँपालिकाको तर्फबाट गुल्मीको रूरूक्षेत्र गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो भएका छन् ।
रूरूक्षेत्रले ७६ दशमलव दुई र छत्रकोटले ७४ दशमलव आठ अङ्क प्राप्त गरेका छन् । देशभरका सात सय ५३ पालिकामध्ये धुर्कोट १०औँ स्थानमा रहेको छ भने लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये तेस्रो स्थानमा छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि- २०७८ अनुसार अङ्क प्रदान गर्दछ । असार १० भित्र बजेट पेस गरे/ नगरेको, असार मसान्तभित्र बजेट पास गरे / नगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरूजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ ।
त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भजाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।