
समाजवादी प्रेस सङ्गठन नेपालले आजबाट आफ्नो दोस्रो राष्ट्रिय भेला गर्दै छ ।
प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका केही पत्रकार संस्थाबाट बाहिरिएपछि ‘विचारमा स्पष्टः पेसामा दक्ष’ नारासहित काठमाडौँमा आयोजना गर्न लागिएको भेलामा सातै प्रदेशका सङ्गठनसँग आबद्ध करिब दुई सय ५० पत्रकार सहभागी हुने छन् ।
भेलापूर्व शनिबार सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक बसेको थियो ।
आइतबारको भेलामा ‘जिम्मेवार पत्रकारः समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने जनाइएको छ ।
भोलिसम्म भल्ने भेलामा पेसागत महासङ्घ र अन्तर्राष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ ।
वि. सं २०७८ भदौ १० गते स्थापना भई सोही साल मङ्सिर ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको सङ्गठनको वि. सं २०८० जेठ २७- २८ मा भएको पहिलो महाधिवेशनले वर्तमान कार्यसमिति चयन गरेको थियो ।