
काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा-सुविधा एवं अन्य सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष केशव रोकायाले बताए । स्वास्थ्य क्षेत्रको काम सम्मानजनक भएको उल्लेख गर्दै उनले सम्मानजनक सेवा-सुविधा दिनुपर्ने बताए ।
उनले आठ घण्टा काम गर्ने र चार घण्टा काम गर्ने कर्मचारीले एउटै प्रकृतिको सेवा-सुविधा पाउने गरेको उल्लेख गर्दै त्यस्तो नगर्नसमेत आग्रह गरे । उनले दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हकमा उमेरको हदबन्दी लाग्ने गरेर सेवा-सुविधा थप गर्नुपर्ने उनको माग छ ।
‘अहिलेको आन्दोलनको मुख्य उद्देश्य भनेको यो अस्पताल स्थापना भएदेखि ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने र सेवा सुविधा बढाउनका लागि हो । सम्मानजनक कामको प्रकृति भएको हुनाले पारिश्रमिक पनि सम्मानजनक हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा आठ घण्टा काम गर्ने कर्मचारीलाई पनि उही पारिश्रमिक र चार घण्टा काम गर्नेलाई पनि सेम पारिश्रमिक यो अवस्था सिर्जना नगर्नुहोस्,’ उनले भने, ‘यहाँ कार्यरत कर्मचारीहरुलाई इच्छाएको समयसम्म उमेरको हदबन्दी नलाग्ने गरेर नेपाल सरकारको तलबसँगै अन्य सुविधामा रहेर कामकाज गर्न पाउनुपर्छ । हाम्रो अधिकार सुनिश्चित हुनुपर्छ हामम्रो मुख्य उद्देश्य त्यत्ति नै हो ।’
निजामती कर्मचारी अस्पतालको रेडियोलोजी डिपार्टमेन्टका कर्मचारी पंख विकले दैनिकी ज्यालादारीमा काम गर्ने कर्मचारीहरुलाई काम मात्र गराउने तर सेवा-सुविधा केही पनि दिने नगरेको आरोप लगाए । उनले सरकारी मापदण्डअनुसार सेवा सुविधा नदिने र निर्देशकपिच्छे आफ्ना कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति बढेकोले आन्दोलनमा उत्रिनुपरेको बताए । उनले आफ्ना मागहरु सम्बोधन नभएर प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनीहरु दिए ।
आन्दोलित कर्मचारीहरुले मुख्यतः अस्पतालको विनिमावली/गठन आदेश तत्काल संशोधन गर्नुपर्ने, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको तत्काल व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई श्रेणी र तहबमोजिम पारिश्रमिक र सेवा-सुविधाको व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन् ।