काभ्रे, फागुन १२ :

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेका कक्षा ६ देखि १० सम्म अध्ययनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् । 

१६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप कक्षा ६- १० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो ।

अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ ।

“केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !”, कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भने । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । 

चार सय ५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा तीन सय ६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये एक हजार दुई सय चार बालिकाले मात्र खोप लगाएका छन् ।