एक वर्षभित्र दिवङ्गत आफन्तजनको सम्झना स्वरुप आत्माको शान्तिको कामना गर्दै नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काभ्रेका दुई ठूला सहरमा मनाइँदैछ ।
विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा आज मनाइँदैछ ।
यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई श्रृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ । विशेषगरी नेवारी संस्कृतिको परम्परा अन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो ।
भक्तपुरको गाईजात्रा संस्कृति- मौलिकतालाई बनेपाका नेवार समुदायले अनुशरण गर्दै नाटक, व्यङ्ग्य- प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन् ।
मल्लकालीन अवस्थादेखि नै गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुआत गरिएको विभिन्न लेख- अभिलेखबाट प्रष्ट देखिने बनेपाका साहित्यकार मोहन दुवालले बताउनुभयो ।
बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँगा, नाला लगायत जिल्लाका मुख्य सहरबजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई श्रृङ्गारी नगर परिक्रमा गराउँछन् ।
जात्रामा सहभागी केहीले जात्राको पोशाकको मुखुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहँदै आएको छ ।
जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिहरू ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।