
तस्बिर : माओवादी अध्यक्ष दाहालको सचिवालय
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्ने बताएका छन् ।
जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो भनाइ राखेका हु्न् । राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको दाहालले बताए ।
जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
स्थानीय अगुवाको माग- बर्जुताललाई भूमाफियाको चंगुलबाट जोगाउन पहल होस्
पार्टीले उत्पीडित वर्गको पक्षमागरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र बिचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट गरे ।
आफूले सरकारको नेतृत्व गर्दा धेरै मिहिनेत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले फेरि समस्या देखिन थालेको दाबी गरे । आफूले धेरै नै मिहिनेत गरेर विद्यालय शिक्षा विधेयक संसद्मा पुर्याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सुनसरीका कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए । अभियान टोली आज दिनभरि सुनसरीमा रहने दाहालको सचिवालयले जनाएको छ ।