
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिशिर खनालले प्रधानमन्त्री केपी ओलीलाई ‘के तपाईं हिटलर बन्दै हो? भनी प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकबाट उनले प्रधानमन्त्रीलाई प्रश्न सोधिएको आधारमा दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको विषयलाई जोड्दै यस्तो प्रश्न गरेका हुन्।
उनले अहिलेको सरकार पनि लोकतान्त्रिक अधिकारहरु कटौती गरेर हिटलरकै शैलीमा अगाडि बढिरहेको आरोप लगाए । ‘हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावैबाट आएका थिए सांसद खनालले भने,’‘जतिबेला उनी सरकारमा गए त्यतिबेला उनले लोकतान्त्रिक अधिकारहरु कटौती गरेर निरंकुश बने अहिलेको सरकार पनि त्यही गर्दैछ ।’सन् १९३० को जर्मनीको इतिहास पढ्न पनि सरकारलाई सुझाव दिए ।
‘के तपाईं हिटलर हो भनेर प्रश्न सोधेको आधारमा पत्रकारको संसद पास निलम्बन गरेछ। केही समय पहिले सत्ता पक्षका एकजना सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ भनी प्रश्न गर्नुभएको थियो? आज निलम्बनको खबर आयो,’उनले भने, ‘संसद निरन्तर सत्ताको छाँया बन्दै गएको छ ।अब मेरो पनि प्रश्न प्रधानमन्त्री ज्यू के तपाईं हिटलर बन्दै हो?’